कसरी गर्न सकिन्छ चट्याङबाट हुने क्षति न्यूनीकरण ?
काठमाडौँ । नेपालमा प्रि मनसुन सिजनमा अत्याधिक गर्मी हुने, हावाहुरी लाग्ने, मेघ गर्जन हुने, असिना पर्ने, चट्याङ पर्ने र क्षणिक किसिमको भारी वर्षा हुने गर्दछ । अन्य समयमा भन्दा प्रि मनसुनको समयमा अत्याधिक मात्रामा चट्याङ पर्ने गर्दछन् । चट्याङबाट नेपालमा वर्षेनी जन धनको क्षति हुने गरेको छ । प्राकृतिक रुपमा हुने चट्याङलाई रोक्न सकिँदैन तर चट्याङबाट हुने जन धनको क्षति न्यूनीकरण गर्न सकिन्छ ।
अब चट्याङबाट बच्ने उपायहरू के के छन् ? र चट्याङ लाग्नु पूर्व अपनाउनुपर्ने उपायहरू कस्ता हुन्छन् भन्ने बारेमा चर्चा गरौँ ।
स्थानीय रुपमा आपतकलीन सूचना चेतावनी प्रवाह गर्ने सरकारी तथा गैरसरकारी निकायको सम्पर्कमा रहनुहोस् । मेघ गर्जन चट्याङबाट पर्ने असर र बच्ने उपाय बारे आफूले राम्रोसँग बुझी अरूलाई पनि जानकारी गराउनुहोस् । घर तथा कार्यालयमा प्राथमिक उपचार किटको व्यवस्था गरी राख्नुहोस् । घर नजिकै रहेका असुरक्षित अग्ला पोल र रुखका हाँगाहरू हटाउनुहोस् ।
चट्याङको लागि सबैभन्दा सुरक्षित स्थान नै सुरक्षित भवन हो । घर बाहिरका क्रियाकलाप गर्नुअघि मौसम पूर्वानुमानको सूचनासँग अद्यावधिक हुनुहोस् । चट्याङको पूर्वानुमान भएको छ भने सकेसम्म घर बाहिरका कामहरू नगर्नुहोस् । यदि गर्नै पर्ने भएमा सुरक्षित स्थानतर्फ जान सक्ने किसिमले गर्नुहोस् । चट्याङ लाग्ने कालो बादल जस्तो देखिएमा सुरक्षित स्थानतर्फ जानुहोस् । मौसम पूर्वानुमान महाशाखाको मौसमको पूर्वानुमानलाई महत्त्वका साथ हेरेर सोही अनुसार आफ्ना कार्यहरू अगाडि बढाउनुहोस् ।
कुनै पनि घर, कार्यालय या त्यस्तो ठाउँमा चट्याङ पर्नबाट जोगिने हो भने चट्याङ सुरक्षा संयन्त्र जडान राख्नुहोस् । यो धातुबाट बनेको छेउमा चुच्चो परेको त्रिशूल जस्तो आकारको वस्तु हो जुन घरको माथिल्लो भागमा राखिन्छ । जमिनभित्र धातुको वस्तु गाडेर यसलाई तारको माध्यमबाट घरको अग्लो ठाउँमा राखेको त्रिशूल आकारको वस्तुसम्म जोड्ने गरिन्छ । आजकल घर घरमा गरिने अर्थिङ पनि यसैको एक स्वरूप हो ।
चट्याङ लागिरहेको समयमा अपनाउनुपर्ने उपायहरू के के छन् त ? अब एकै छिन चर्चा गरौँ ।
सर्वप्रथम आफू बसेको स्थानबाट चट्याङ कति टाढा छ त्यसको दुरी पत्ता लगाउनु पर्दछ । चट्याङ पर्दा प्रकाश र आवाज एकैसाथ निस्कने गर्दछ । तर प्रकाशको गतिको तुलनामा आवाजको गति कम हुनाले आवाज पछि सुन्ने गरिएको हो । आवाजको गति २० डिग्री सेन्टिग्रेडको तापक्रममा ३४३ मिटर प्रति सेकेण्ड हुन्छ ।
अर्को शब्दमा आवाजले प्रति घ सेकेण्डमा करिब एक किलोमिटरको गति लिन्छ । त्यसैले प्रकाश आएपछि ३ सेकेण्डमा आवाज सुनिएको छ भने चट्याङ परेको स्थान र आफू बसेको स्थानको दुरी करिब १ किलोमिटर छ भनेर बुझ्नुपर्दछ । यसै अनुसार, ६ सेकेण्डको समय अन्तरालमा चट्टयाङ्ग परेको स्थान र आफू बसेको स्थानको दुरी करिब दुई किलोमिटर र ९ सेकेण्डको अन्तरालमा भने करिब ३ किमी टाढा छ भनेर थाहा पाउने । यदि चट्याङ अलि टाढै छ भने खासै चिन्ता लिनु पर्दैन अन्यथा कहीँ उपयोगी सावधानी अपनाउनु नै बुद्धिमानी हुनेछ । छोटो समयको अन्तरमा एकपछि अर्को गर्दै लगातार चट्टयाङ्ग परिरहेछ भने धेरै सावधानी अपनाउनु पर्ने हुन्छ ।
यदि तपाई घर भित्रै बसिरहनुभएको छ भने झ्याल ढोका नजिक नबस्नुहोस् । तार जडित टेलिफोन प्रयोग नगर्नुहोस् । अत्यावश्यक अवस्थामा मोबाइल वा तार रहित फोनको प्रयोग गर्नुहोस् । घर भित्रको विद्युतीय प्रवाह बन्द गर्नुहोस् साथै तारहरू प्लगबाट छुट्टाउनुहोस् । धातुका सामानहरूलाई सकभर नछुनुहोस् । पानीमा विद्युतीय प्रवाह हुने भएकोले धारामा ननुहाउनुहोस्, भाडा वा कपडा धुने काम नगर्नुहोस्, आवश्यक परेमा बाल्टिनको पानी प्रयोग गर्नुहोस्। कङ्क्रिटको भित्ता र भुईँमा सीधै नछुनुहोस् ।
केबुल, एन्टिनाको तारहरू उपकरणबाट छुट्टाउनुहोस् । चट्याङ समयमा ठुलो विद्युतीय प्रवाह हुने भएकोले विद्युतीय सामानहरू जस्तै टेलिभिजन, रेफ्रिजिरेटर, टेलिफोन आदीमा धेरै भोल्टेज प्रवाह भई बिग्रिन सक्ने भएकोले त्यस्ता सामानहरू विद्युतीय स्विचबाट अलग राख्नुहोस् ।
यदि तपाई घर बाहिर हुनुहुन्छ भने तत्काल सुरक्षित घर वा सुरक्षित भवन भित्र जानुहोस् । खुला मैदानमा नबस्नुहोस् । खुला ठाउँमा हुनुहुन्छ भने अग्लो स्थानबाट होचो स्थान तर्फ जानुहोस्। खुला ठाउँमा उभिएर नबस्नुहोस्, बरु गोडा जोडेर टुक्रुक्क बस्नुहोस् तर जमिनमा नसुत्नुहोस् । अग्लो नहुनुहोस् र खुट्टाको बलले रहनुहोस् ताकि जमिनसँग त्यति धेरै क्षेत्रले सम्पर्कमा नरहोस् । आफ्नो हात दुवै कानमा राखेर आफ्नो टाउको भने घुँडाको बीचमा राख्नुहोस् । रुखको नजिक हुनुहुन्छ भने सकभर रुखबाट टाढा जानुहोस् । समूहमा हुनुहुन्छ भने छुट्टिनुहोस्, सँगै जोडिएर नबस्नुहोस् ।
मैदानमा भइरहेका सामूहिक खेलहरू तत्काल बन्द गर्नुहोस् । धातुको तार बार नजिक नबस्नुहोस् । जङ्गलमा हुनुहुन्छ भने अग्ला रुखको नजिक नबस्नुहोस् सकभर होचो जमिनमा साना रुख बिरुवा नजिक बस्नुहोस् । असुरक्षित अग्लो पोल नजिक नबस्नुहोस् । पौडी पोखरी अथवा डुङ्गामा हुनुहुन्छ भने तत्काल पोखरीबाट निस्किनुहोस् । माछा मार्ने काम, राफ्टिङ्ग जस्ता क्रियाकलाप नगर्नुहोस् ।
गाडी त्यति सुरक्षित त हैन तापनि तत्काल गाडी फेला पार्नु भयो भने त्यो केही हदसम्म मात्र सुरक्षित हुन सक्छ । त्यस प्रकारको गाडीको माथिल्लो भाग कडा खालको हुन पर्छ।गाडी भित्र बस्दा झ्यालका सिसा लगाउनुहोस् र गाडीको कुनै पनि धातुको भागलाई नछुनुहोस् । नजिकै हाइ भोल्टेजको तार भएमा दुई खम्बाको बीचमा ओत लाग्नुहोस् । चट्याङसँगै हावाहुरी पनि लाग्ने भएकोले हावाहुरीले क्षति गर्न सक्ने स्थानमा नबस्नुहोस् । मेघ गर्जन र चट्याङ गराउने बादल पुनः विकसित हुनसक्ने भएकोले अन्तिम मेघ गर्जन वा चट्टयाङ्ग सुनेको ३० मिनेट सम्म सुरक्षित स्थानमै बसिरहनुहोस् ।
चट्याङ लागि सकेपछि अपनाउनुपर्ने केही उपायहरू :
चट्याङबाट घाइते भएको व्यक्तिमा चट्याङको प्रभाव रहिरहँदैन तसर्थ घाइते व्यक्तिलाई सहयोग गर्न नडराउनुहोस् र घाइते व्यक्तिको प्राथमिक उपचार गर्नुहोस् । साथै घाइतेको अवस्था गम्भीर भएमा एम्बुलेन्स बोलाउनुहोस् । मौसमी सूचना अपडेटको प्रतीक्षा गर्नुहोस् । मेघ गर्जन र चट्याङ हुने प्रणाली सकिएपछि मात्र घर बाहिरका क्रियाकलाप गर्नुहोस् ।
प्रतिक्रिया राख्नुहोस्