निर्वाचनमा पार्टीको सफलता उत्साहका रूपमा लिनुपर्छ: मन्त्री झाँक्री
काठमाडौँ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नेकपा (एकीकृत समाजवादी) पार्टी निर्माण भएको करिब आठ महिनाको अवधिमा स्थानीय तहको निर्वाचनमा पार्टीले प्राप्त गरेको सफलतालाई उत्साहका रूपमा लिनुपर्ने बताउनुभएको छ ।

गुल्मी काठमाडौँ सम्पर्क मञ्चले शुक्रवार आयोजना गरेको स्थानीय तह निर्वाचनको समीक्षा कार्यक्रममा मन्त्री झाँक्रीले छोटो समयमा पार्टी र चुनाव चिह्न यति धेरै जनताका बिचमा पुग्न सक्नु र मत पाउनुलाई ठूलो उपलब्धिका रूपमा लिनुपर्ने बताउनुभयो ।
स्थानीय तह निर्वाचनमा देशका विभिन्न जिल्लामा भएको चुनावी गठबन्धन अधिकांश ठाउँमा सफल भएको बताउँदै उहाँले निर्वाचनमा भएका केही कमी कमजोरीलाई शिक्षाका रूपमा लिएर आगामी सङ्घ र प्रदेशको निर्वाचनमा जानुपर्नेमा जोड दिनुभयो ।
मन्त्री झाँक्रीले आफू गुल्मेली जनताको साथ र सहयोगबाट लामो समयदेखि राजनीतिमा सक्रिय भए पनि गुल्मेली जनताको प्रत्यक्ष जनमतबाट देश र जनताको सेवा गर्न आतुर रहेको उल्लेख गर्नुभयो ।
पार्टीको सचिव समेत रहनुभएकी झाँक्रीले पार्टीका नेता तथा कार्यकर्ताहरूसँगै गुल्मेली जनतालाई निराश हुन नदिने र आगामी सङ्घको निर्वाचनमा गुल्मीबाट आफू उम्मेदवार बन्ने घोषणा गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्