तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगिता: गायनतर्फ सुन्दास प्रथम

काठमाडौँ । राष्ट्रव्यापी खुला आधुनिक गीत प्रतियोगितामा गायनतर्फ भोजपुरका राजकुमार सुन्दास (राज सागर) प्रथम हुनुभएको छ ।

रेडियो नेपाल प्रसार सेवा विकास समिति (रेडियो नेपाल) को ७२ औँ वार्षिक उत्सवको अवसरमा रेडियो नेपाल परिसर सिंहदरबारमा आज आयोजना गरिएको प्रतियोगितामा लक्ष्मी बि.क र सन्देश पौड्याल द्वितीय तथा ममता गुरुङ तृतीय हुनुभएको छ ।

यस्तै रमेश सुवेदी उत्कृष्ट सङ्गीतकार र महेश पौडेल उत्कृष्ट गीतकार घोषणा हुनुभएको छ । यसैगरी २६ जना प्रतियोगीमध्ये निर्मल दियाली, उत्तम बहादुर थापा, मधु विश्वकर्मा, कपिल सुनुवार, अम्बिका राई, अविशेक बराइली विश्वकर्मा, मेनुका आचार्य, करुणा गन्धर्व, सरोज परियार र उपेन्द्र लिम्बु उत्कृष्ट १० मा पर्नुभएको छ ।

राष्ट्रव्यापी खुला आधुनिक गीत प्रतियोगिताको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष डा. वैकुण्ठ अर्यालले गीत सङ्गीतको प्रवर्द्धनमा रेडियो नेपालले महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

सचिव अर्यालले गीत सङ्गीतका क्षेत्रमा कलाकारलाई रेडियो नेपालले नै चिनाएको स्मरण गराउँदै यसको प्रवर्द्धन गर्न महत्त्वपूर्ण प्लेटफर्म उपलब्ध गराउँदै आएको समेत स्पष्ट पार्नुभयो ।

उहाँले रेडियो नेपालले २०२२ सालदेखि कुनै कुनै रुपमा गीत सङ्गीत प्रतियोगिता गर्दै गीत सङ्गीतलाई प्रवर्द्धन गर्न पहल गर्दै आएको बताउनुभयो ।

रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले रेडियो नेपालले आफ्नो प्रसारणलाई समावेशी बनाउँदै रेडियो नेपाल गीत सङ्गीतको पर्यायवाची र उद्गम थलोका रुपमा रहेको बताउनुभयो ।

उहाँले गीत सङ्गीत विनाको प्रसारण कल्पना पनि गर्न नसकिने भन्दै रेडियो नेपालले गीत सङ्गीत प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।

कार्यकारी निर्देशक केसीले रेडियो नेपालले तीन वटा प्रसारण केन्द्रसहित ७ वटै प्रदेश प्रसारण, २६ वटा एफ.एम रिले स्टेसन र अनलाइन सेवामार्फत प्रसारण पहुँच पुर्‍याइरहेको बताउनुभयो ।

उहाँले रेडियो नेपालले हाल २१ भाषामा समाचार र २० भाषामा कार्यक्रम प्रसार गर्दै आएको समेत जानकारी दिनुभयो ।

रेडियो नेपालले वार्षिक उत्सवको पूर्व सन्ध्यामा हरेक बर्ष आधुनिक गीत प्रतियोगिताको आयोजना गर्दै आएको छ । यस वर्षको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा ६ वटा प्रदेशका २६ जना कलाकारको सहभागिता रहेको छ ।

वि.सं. २००७ साल चैत्र २० गते विधिवत् रुपमा स्थापना भएको रेडियो नेपालले यही चैत २० गते ७२ औँ स्थापना दिवस मनाउँदै छ ।

मुलुककै अग्रणी सञ्चार माध्यमको रुपमा रहेको रेडियो नेपाल विकास समिति ऐन २०१३ अनुसार सरकारी सञ्चार माध्यमका रुपमा सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button