निजामति विधेयकमाथि थप छलफल आवश्यक : मन्त्री त्रिपाठी
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदेश त्रिपाठीले निजामती विधेयकको मिल्न बाँकी विषयमा थप छलफल आवश्यक रहेको बताउनु भएको छ ।
राज्यव्यवस्था तथा सुशासन समितिमा आज बसेको बैठकमा मन्त्री त्रिपाठीले दिगो रुपमा प्रभाव पार्ने कुनै पनि विषयमा छलफल र बहस गरेर त्रुटी नहुने गरी सहमती खोज्नु पर्नेमा जोड दिनुभयो ।
मन्त्री त्रिपाठीले निजामती सेवामा खुला र समावेशी दुवैतर्फ प्रतिस्पर्धाबाट आउने स्पष्ट व्यवस्था रहेकले समितिको छलफलमा उठेका विषयको आधारमा गृहकार्य गर्न समितिसँग आगामी शुक्रबारसम्मको समय माग गर्नुभयो ।
यस अघि समितिमा निजामती सेवामा रहेको पदपूर्ति सम्बन्धी विशेष व्यवस्थामा खसआर्य समुदायको पनि क्लष्टर थप्नु पर्ने विषयमा सांसदहरुले जोड दिनु भएको थियो ।
समानुपातिक व्यवस्थाबाट छुट्टै रहेको महिला क्लष्टर हटाएर सबै क्लष्टरमा ५०÷५० प्रतिशत महिला प्रतिनिधित्व गराउनु पर्ने बिषयमा पनि सांसदहरुले जोड दिनुभयो ।
समितीमा समानुपातिक क्लष्टरमा खसआर्य क्लष्टर थप गरेपछि समानुपातिक तर्फको प्रतिशत बढाउनु पर्ने वा बढाउन नहुने विषयमा भने सांसदहरुबीच मत बाझिएको छ ।
निजामती विधेयकमा खुला तर्फ ५५ प्रतिशत र समानुपातिक तर्फ ४५ प्रतिशतको व्यवस्था प्रस्ताव गरिएको छ । समानुपातिकतर्फ महिला प्रतिनिधित्व ३३ प्रतिशत पुर्याउनु पर्ने संवैधानिक व्यवस्था समेत रहेको छ ।
यसरी समितिमा भएको छलफलका आधारमा मिल्न बाँकी सम्पूर्ण विषयमा प्राविधिक विषयसमेत मिल्ने गरी प्रतिवेदन ल्याउन समितिले मन्त्रालयलाई सुझाव दिएको छ ।
प्रतिक्रिया राख्नुहोस्