चालीस वर्षदेखि नखेलिएको ‘अलैयाबलैया’ खेल खेल्दै मनाइयो देवारी
बर्दिया । बर्दियाका थारू समुदायले आफ्नो संस्कृति र परम्परा अनुसार देवारी पर्व मनाएका छ । देवारी पर्वको अवसरमा वर्षाैँदेखि मनाउन छोडेको अलैयाबलैया खेल समेत खेलेर देवारी पर्व मनाएका हुन् ।
बर्दियाको बारबर्दिया नगरपालिका–३ बेलवाबज्जामा देवारीको अवसरमा परम्परा अनुसार विविध परम्परागत तथा साँस्कृतिक क्रियाकलाप गरिएको छ । थारू परम्परा अनुसार देवारीका अवसरमा गरिने क्रियाकलाप सञ्चालन गरेका छन् ।
देवारीको दिनमा थारू समुदायले बिहानै उठेर घर सरसफाइ गर्छन् । घर आँगन लिपपोत गर्ने बाटोघाटो सफा गर्छन् । तत्पश्चात् पुरुषहरू बाहिरको काम गर्छन् भने महिलाहरू मकै भुटेर जाँतोमा पिस्छन् । मकैको सातुमा नुन मिसाएर मन्दिर तथा सार्वजनिक स्थानमा नुन सातु लिएर जान्छन् । पुरुषहरूले खुर्केर सफा बनाएको जमिनमा महिलाहरूले सातु राखिदिन्छन् भने पुरुषहरूले गाई गोरु भैँसीहरूलाई टिका लगाएर सातु खान दिन्छन् । यस क्रियाकलापलाई थारू भाषामा लोन खुवाइना भनिन्छ ।
त्यसपछि महिला र पुरुष मिलेर नजिकैको खोला नाला पोखरीमा माछा मार्न जान्छन् । माछा मारेपछि घरमा ल्याएर माछा बनाउँदछन् । साथै थारू समुदायको चर्चित खानेकुरा ढिक्रि (चामलको पिठो मुछेर गोलो वा लाम्चो बनाइ बाफमा पकाएको परिकार), सिद्राको चटनी, माछाको तरकारी, डोकनीको चटनी, लोकल कुखुराको मासु, बङ्गुरको मासु लगाएतका परिकार पकाइन्छ । दिनभरी रमाइलो गरी नाचगान गर्दै विभिन्न परिकार र छाकी (जाँड) खाने प्रचलन छ ।
साँझ पख घर, मन्दिर, चोक, सार्वजनिक स्थानमा दीपावली गर्ने चलन रहेको छ । आफ्नो घरमा घरबेटी आफैले दीपावली गर्छन् भने मन्दिर लगायत सार्वजनिक स्थानमा गाउँका सबै जना मिलेर दीपावली गर्ने प्रचलन रहेको छ । सार्वजनिक स्थानमा दीपावली गरिसकेपछि सबैले घरघरबाट लगेको परिकार बाँडेर खाने प्रचलन पनि रहेको थारू अगुवाहरू बताउँछन् ।
त्यही साँझ, बालबालिका युवा युवती, ज्येष्ठ नागरिक लगायत सबै जना अलैयाबलैया खेल खेल्ने चलन समेत रहेको छ । अलैयाबलैया खेल घर घरबाट उठाएको बाबियोको मुठालाई सल्काई नचाउने खेल हो । बाबियोको राँको नचाउँदै अलैयाबलैया दुर जा, चोर के आँखी फुट जा ’ भनेर गाउँ परिक्रमा गर्ने चलन रहेको छ । यो खेल परम्परागत खेल भएपनि पछिल्लो चालिस वर्षयता नखेलिएको बारबर्दिया नगरपालिका–३ का वडाध्यक्ष नन्दलाल थारू बताउनुहुन्छ ।
अलैयाबलैया खेलपछि अन्तिम क्रियाकलाप युवाहरूले उखु, पिँडालु, तरकारी चोर्नु रहेको छ । अलैयाबलैया गरेर चोर केटाकेटी लखेटे पनि सबै सुतेको मौका पारेर युवा तथा किशोरीहरूले चोर्ने र लुकेर खाने प्रचलन रहेको समाजसेवी पर्शुराम चौधरीले बताउनुभयो । उहाँका अनुसार यस दिनमा घर बाहिर बारीमा रहेका तरकारी उखु चोर्दा दोस नलाग्ने प्रचलन रहेको बताउनुभयो ।
बारबर्दिया नगरपालिकाका प्रमुख छविलाल थारूले हराइरहेको थारू संस्कृति जोगाउनका लागि देवारी विशेष कार्यक्रम गरिएको बताउनुभयो । थारू समुदायको परम्परा हराउँदै अन्य जातजातिको परम्परा भित्रिँदै गएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्