कम्पोष्ट मल उत्पादनबाट वार्षिक करिब १० लाख आम्दानी गर्दै चौधरी
कपिलवस्तु । चार दशक शिक्षण पेशा गर्नुभएका शेषराम चौधरी (थारु) यतिबेला अर्ग्यानिक कृषिमा लाग्नुभएको छ । कपिलवस्तुको बुद्धभुमि नगरपालिका वडा नम्बर–९, बकुलीपुर बस्ने चौधरीले लामो समय अङ्ग्रेजी शिक्षक भएर बुद्धभुमि क्याम्पसमा समेत अध्यापन गराउनुभएको थियो ।
उहाँले दुई बर्ष पहिले डेढ लाखमा गड्यौला खरिद गरी पशुको गोबर र स्थानीय स्रोत साधनको प्रयोग गरी अर्ग्यानिक मल उत्पादनको सुरुवात गर्नुभयो । आफूसँग यतिबेला भर्मि कम्पोष्ट (गँड्यौला मल), भर्मिवास (झोल पदार्थ विषादी) र वेस्ट डि–कम्पोजर (कुहिने वस्तु) मल जस्ता तीन किसिमका उत्पादन उपलब्ध रहेको उहाँले बताउनुभयो । आफूले उत्पादन गरेका मल परीक्षणका लागि घरकै खेतबारी अन्नबाली तथा ड्राईगनलगायत फलफूलको बोट बिरुवामा प्रयोग गर्दा प्रभावकारी भएको उहाँले बताउनुभयो ।
“२०३४ देखि २०७४ सालसम्म जनकल्याण माध्यमिक विद्यालयमा शिक्षकसँगै सहायक प्रधानाध्यापकको भूमिका निर्वाह गर्दै थिएँ । उर्वर भूमि बिग्रिँदै गएकोप्रति चिन्ता व्यक्तसँगै सुधार कसरी गर्ने ? भन्ने मनमा भावना आयो । जब रिटायर भएपछि खाली समय घरमा बस्दा सामाजिक सञ्जाल प्रयोग गर्दै थिए । त्यही बेला भारतमा कृषि सम्बन्धि कार्यक्रम आउँदै थियो । जुन मलाई निकै मन पर्यो । जसको विस्तृत हेर्न युटूवको सहायता लिएँ । भर्मि कम्पोष्ट मल बनाउने तरिका थाहा पाएँ । घरमै मलको उत्पादन सुरु गरेपछि आफ्नै बारीमा प्रयोग गरेर विचार गरेँ ।”, चौधरीले भन्नुभयो ।
उहाँले मलको प्याकेज बनाई पूर्णरुपमा अर्ग्यानिक उत्पादन गर्ने उद्देश्यले स्थानीय बजारमा उपलब्ध गराइएको बताउनुभयो । भर्मि कम्पोष्ट र वेस्ट डि–कम्पोजरमल १ देखि ४० केजीको प्याकेटमा, भर्मिवास झोल पदार्थमा प्लास्टिक बोटलमा बजारमा उपलब्ध रहेको उहाँले बताउनुभयो ।
देशलाई नै अर्ग्यानिकतर्फ उन्मुख गर्न सबै लाग्न आवश्यक रहेको भन्नुहुँदै उहाँले गड्यौला तथा मल अधिकांश कृषकहरूले घरमा नै लिन आउने गरेको देशभर यसको माग हुने गरेको बताउनुभयो ।
अर्ग्यानिक उत्पादनलाई प्राथमिकता दिन सके केमिकलयुक्त खान प्रयोगलाई नियन्त्रण गरी आम नागरिकको स्वास्थ्यमा समेत सुधार ल्याउन मद्दत पुग्ने भन्नुहुँदै उहाँले स्वदेशमा नै आत्मनिर्भर बन्न र स्थानीयलाई रोजगारी दिन थारुले इको फ्रेन्डली अर्ग्यानिक फर्म नामक संस्था दर्ता गरूँ मल उत्पादन सुरु गरिएको बताउनुभयो ।
उहाँले स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचले आफूले फर्म सञ्चालन गरेदेखि नै रासायनिक मलको प्रयोग नगरेका बताउनुभयो । उहाँले यस क्षेत्रमै नौलो कार्यको सुरुवात गर्दै गर्दा स्थानीय सरकार र कृषि ज्ञान केन्द्रलगायत सरोकारवाला निकायबाट सकारात्मक सहयोग पाएको बताउनुभयो ।
खानसँगै वातावरण सुरक्षा गर्ने योजनाका साथ आफू अघि बढेको सुनाउनुहुँदै उहाँले डेढ लाख लगानीमा गड्यौला उत्पादनका लागि उपकरण खरिद गरी मल उत्पादन सुरु र अहिले वार्षिक करिब १० लाख आम्दानी गर्ने गरेको जनाउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्