उदयपुरको कटारीमा त्रिवेणी मेला सुरु
उदयपुर । हरेक बर्ष माघ १ गते अर्थात् माघेसंक्रान्तिको दिनदेखि सुरु हुने त्रिवेणी मेला यो बर्ष पनि सुरु भएको छ । उदयपुर जिल्लाको कटारी नगरपालिका–२ खोक्सामा परापूर्व कालदेखि लाग्दै आएको त्रिवेणी मेला यो बर्ष पनि सुरु भएको हो ।
त्रिवेणी मेला अर्थात् मैनी मेलाले परिचित मेला विगतका वर्षहरुमा १५ दिन मात्र लाग्ने गरेकोमा यस पटक भने यो मेला २० दिन लाग्ने कटारी नगरपालिकाले जनाएको छ । जिल्लाको कटारी नगरपालिका स्थित तावा, ककरु खोला र कमला नदीको संगमस्थल उक्त मेला आयोजना हुँदै आएको छ ।
मेलाका लागि कटारी नगरपालिकाले ठेक्का सम्झौता मार्फत चण्डीका सप्लार्यस एण्ड ट्रेडर्सलाई मेलाको जिम्मेवारी दिएको छ । मेलामा के गर्नु पर्ने ? के नगर्नु पर्ने ? समेत सम्झौतामा उल्लेख गरेर दिएको कटारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजमणी निरौलाले जानकारी दिनु भयो । निरौलाका अनुसार मेला व्यवस्थापनको लागि करबाहेक १३ लाख ८१ हजार ४ सय १५ रुपैयाँ ९३ पैसामा ठेक्का दिइएको हो ।
कटारी नगरपालिकाका अनुसार यस पटक मेलामा घरेलु तथा साना उद्योग र हस्तकलाबाट उत्पादित सामानहरूको स्टल, स्थानीय परिकारका होटल तथा खाजा घर, भाडा वर्तन, लत्ताकपडा, फेन्सी, घुमन्ते खेलौना, खाद्य सामग्री, कृषि उपजको विक्री वितरण हुने छ । यसैगरी स्थानीय संस्कार संस्कृति झल्काउने साँस्कृतिक कार्यक्रम समेत हुने छ । मेलामा जुवा जन्य खेल, उछृङखल किसिमका नृत्य, सामाजिक सद्भाव भड्किने खालका कार्यक्रममा रोक लगाइएको छ ।
देशमा गएको २०५२ साल फागुन १ गतेदेखि २०६२ सालसम्म चलेको सशस्त्र युद्धको कारण एक महिनासम्म लाग्ने त्रिवेणी मेला १५ दिनमा सीमित हुँदै आएको थियो । सशस्त्र युद्ध रोकिएको बर्षौपछि त्रिवेणी मेला २० दिन लाग्ने भएको स्थानीयले बताए ।
मेलामा मुख्य गरेर त्रिवेणीधाममा दर्शन गर्न आउने र मेलाका लागि आउने आगन्तुक हुने गर्दछन् । दर्शन गर्न आउने भक्तजनले मुख्य गरेर कमला नदीको त्रिवेणीधाममा मकर नुहाउने, पूजा तथा आराधना गर्ने, कमलेश्वर शिव महादेवको दर्शन गर्ने गर्दछन् । मनले चिताएको कुरा पूरा हुने र शरीरका विभिन्न रोगकष्ट तथा चर्मरोग अन्त्य हुने जनविश्वासका साथ त्रिवेणीधाममा मकर नुहाउने तथा कमला नदीमा पाठी, परेवा र हाँस बलि दिएर पूजा गर्ने चलन छ । कमलेश्वर महादेव मन्दिरमा दूध चढाएर पूजा गर्ने समेत प्रचलन रहँदै आएको स्थानीय बुढापाकाको भनाइ छ ।
त्रिवेणी मेलामा उदयपुरबाहेक कोशी प्रदेशका सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ झापा, मोरङ, सुनसरी, मधेस प्रदेशका सिरहा, सप्तरी, धनुषा, सर्लाही, बारा, पर्सा, रौतहट, बागमती प्रदेशका चितवन, काभ्रे, सिन्धुली, सहित राजधानी काठमाडौँबाट समेत ठूलो सङ्ख्यामा भक्तजन आउने गर्दछन् । यस्तै भारतको बिहार, पश्चिमबङ्गाल, दार्जिलिङ, सिक्किम र कालिम्पोङबाट समेत ठूलो सङ्ख्यामा भक्तजन आउने गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्