घरेलु तथा साना उद्योग कार्यालय उदयपुरको राजस्व सङ्कलनमा वृद्धि
उदयपुर । घरेलु तथा साना उद्योग कार्यालय उदयपुरले उद्योग तथा व्यापारिक फर्म दर्ताबापत आर्थिक वर्ष २०७९÷०८०को तुलनामा आर्थिक वर्ष २०८०÷०८१मा ४७.७३ प्रतिशतले बढी राजस्व सङ्कलन गरेको छ ।
घरेलु तथा साना उद्योग कार्यालय उदयपुर गाईघाटले दिएको जानकारी अनुसार उद्योग दर्ता र वाणिज्य फर्म दर्ताबाट गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्ष २०८०/०८१मा राजस्व वृद्धि गरेको जनाएको हो ।
घरेलु तथा साना उद्योग कार्यालय उदयपुरले उद्योगतर्फ २९ लाख ६६ हजार ६७५ र वाणिज्यतर्फ २९ लाख ७ हजार १०० रुपैयाँ गरी कुल ५८ लाख ७३ हजार ७७५ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
आर्थिक वर्ष २०७९÷०८० मा ३९ लाख ७५ हजार ९७३ रुपैयाँ राजस्व सङ्कलन भएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नरेन्द्र पराजुली जानकारी दिनुभयो ।
उहाँका अनुसार आ.व. २०७९÷०८० को तुलनामा २०८०÷०८१ मा ४७.७३ प्रतिशतले राजस्व बढेको हो ।
घरेलु तथा साना उद्योग कार्यालय उदयपुरका प्रमुख पराजुलीले घरेलु कार्यालय उदयपुरमा हालसम्म ५ हजार ५ सय ३३ वटा उद्योग र वाणिज्यतर्फका फर्म ४ हजार ३ सय १६ वटा फर्म दर्ता भएको जानकारी दिँदै जिल्लामा १५ करोडसम्म पुँजी भएको उद्योग दर्ता हुने गरेको र सो भन्दा माथिको विभागमा दर्ता गर्नुपर्ने कानुनी व्यवस्था रहेको बताउनुभयो ।
आर्थिक वर्ष २०८०÷०८१ मा २४७ वटा उद्योग दर्ता भएको छ भने यसमा प्राइभेट फर्म २२२ वटा र साझेदारी फर्म १०, प्राइभेट लिमिटेड फर्म १५ ओटा गरी २४७ ओटा रहेका छन् ।
चालु आर्थिक वर्ष २०८१÷०८२ को मङ्सिर १६ गतेसम्ममा ७३ वटा उद्योग र वाणिज्य फर्म ५४ वटा दर्ता भएको यसबाट २६ लाख ४५ हजार ९ सय राजस्व सङ्कलन भएको घरेलु तथा साना उद्योग कार्यालय उदयपुरले जनाएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय उदयपुरले यस वर्ष उद्यमशीलता ४ वटा र २२ वटा सीपमूलक गरी २६ वटा तालिम दिइएको छ ।
जिल्लामा पालिका स्तरमा स्थानीय तहको माग अनुसार त्रियुगामा ७ वटा, चौदण्डीगढीमा ४ वटा, बेलका नपामा ५ वटा, कटारीमा ४ वटा, रौतामाईमा २ वटा, उदयपुरगढीमा २ वटा र लिम्चुङबुङमा २ वटा तालिम दिइएको छ । जसमा ३२८ महिला र १०० जना पुरुष गरी जम्मा ४२८ जनाले लाभ लिएर सीप सिकेको र केहीले आफ्नो रुचि अनुसार व्यवसाय सञ्चालन गरेको प्रमुख पराजुलीले बताउनुभयो ।
यस्तै वाणिज्यतर्फ जम्मा १३३ वटा दर्ता भएकामा १३१ प्राइभेट र २ सार्वजनिक फर्म दर्ता भएका छन् भने ५६० वटा उद्योगको नवीकरण भएको र ५५४ वटा वाणिज्य फर्म नवीकरण हुनुका साथै ७० वटा उद्योग र ६४ वटा वाणिज्य फर्म खारेजी भएको छ भने ११८ वटा उद्योगलाई प्रविधि हस्तान्तरण गरिएको कार्यालयका सूचना अधिकारी पार्थराज गौतमले जानकारी दिनुभयो।
प्रतिक्रिया राख्नुहोस्