किसानलाई फुल टिप्न, माला उन्न र बेच्न चटारो
भक्तपुर । कात्तिक महिना, खेतमा लहलह धान झुल्ने र बारीमा तोरी फुल्ने समय हो । तर गएका केही वर्षदेखि सुर्यविनायक नगरपालिका–७ गुण्डुमा धान र तोरीलाई ढकमक्क फुलले विस्थापित गरिदिएको छ ।
भक्तपुरमा सबभन्दा बढी फूल खेती हुने गुण्डुका घरको आँगन, डिलदेखि खेत र बारीको पाटाभरि झपक्क फुलेका फूलहरूले यहाँको सौन्दर्यता मात्रै थपेको छैन, राम्रो आम्दानीको श्रोत समेत बनेको छ ।
बिहानैदेखि बारीका फुलेका मखमली र सयपत्री फूल टिप्न बस्ती भित्रका सिङ्गो परिवारलाई भ्याई नभ्याई छ । यहाँका किसानले व्यावसायिक रुपमा आधा रोपनीदेखि पाँच रोपनीसम्मको क्षेत्रफलमा फूल खेती गरेका छन् । साउनदेखि टिप्न सुरु भएको मखमली र सयपत्री फूल अहिलेसम्म पनि टिप्न, माला उन्न र बेच्न चटारो छ ।
पाँच दशकभन्दा अगाडिदेखि भक्तपुरमा व्यवसायीक रुपमा मखमलीको फूल खेती हुने ठाउँ चाँगुनारायण नगरपालिका–९ ताथलीका बनमाला समुदाय हो । यहाँका बनमाला समुदायले मखमली फूलको खेती गर्न र तिहारमा स्थानीय स्तरदेखि भक्तपुरको बजारसम्म पुर्याएर आर्थिक उपार्जन गर्दै आएका थिए । यस क्षेत्रमा अहिलेपनि यो समुदायले फूल खेती गर्दै आएका छन् नै ।
उनीहरूकै सिको गर्दै बनमाला बाहेक ताथलीका अन्य समुदाय एवं जातजातिका स्थानीयवासीले पनि विगत १० वर्षदेखि सयपत्री र मखमलीको फूल खेती गर्दै आएका छन् ।
भक्तपुरको गुण्डुमा पछिल्लो १५ वर्षयता व्यवसायीक रुपमा करोडौँको फूल तथा माला बिक्री गर्ने गरि यहाँ फूल खेती सुरु भएको हो । सूर्यविनायक नगरपालिका–७ गुण्डुका स्व.पहलमान नगरकोटीले करिब ४० वर्ष अघि मखमली फूलको व्यवसायीक खेती सुरु गरेको तथ्य फेला परेको बताउनुहुन्छ गुण्डुका वडाध्यक्ष रवीन्द्र सापकोटा ।
उहाँकी पत्नी देवकुमारी आफ्नो घरबाट सुरु भएको खेती अहिले गुण्डुमा मुख्य खेतीको रुपमा बिकास भएका र अहिले व्यापारी घरघरमा आएर फूल लैजाने गरेको देख्दा खुसी लाग्ने गरेको बताउनुहुन्छ ।
गुण्डुमा मात्रै करिब ७०० रोपनी भन्दा बढी जमिनमा व्यावसायिक फूल खेती छ ।
चार–पाँच वटा सयपत्री फूलको मुठा पारेर एक मुठाको रु. १० देखि रु. १५ सम्ममा बिक्री हुने गरेको स्थानीय अनिता बस्नेतले बताउनुभयो । दशै सकिएपछि घरघरमा फूल किन्न व्यापारीहरू आउने गरेकोले यहाँका कृषकलाई बजार पाउन सहज भएको छ ।
स्थानीय मिना नगरकोटीले अहिले दैनिक १० हजार मखमली फूलको माला व्यापारीले गाउँमै आएर लाने गरेको बताउनुभयो । असारदेखि फूल टिपेर, गाँसेर झुत्तो बनाएर राखेको मखमली फूलको माला तिहार नजिकिएपछि बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ ।
अन्तर्राष्ट्रिय बजारमा यहाँका फूल माला पुग्ने गरेका छन् नेपालमा भारतीय फूलले बजार ओगटिरहेको बेलामा यहाँका फूल भने अमेरिकादेखि अस्ट्रेलियासम्म पुग्ने गरेका छन् ।
राष्ट्रिय कृषक समूह महासङ्घ नेपालकी केन्द्रीय सचिवालय सदस्य एवं स्थानीय अनिता बस्नेत आफ्नो बारीमा फूलेका फूल अमेरिकादेखि अस्ट्रेलियासम्म पुर्याउन पाउँदा खुसी लागेको बताउनुहुन्छ ।
प्रतिक्रिया राख्नुहोस्