जुम्ला जिल्ला साक्षर घोषणा
जुम्ला । कर्णाली प्रदेशको जुम्ला जिल्ला साक्षर जिल्ला घोषणा भएको छ । राष्ट्रिय साक्षर घोषणा मापदण्डअनुसार सबै सूचक पुरा भएपछि जुम्ला साक्षर जिल्ला घोषणा भएको हो । बुधबार सदरमुकाममा आयोजित कार्यक्रममा कर्णाली प्रदेशका सांसद देवेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यतामा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले जुम्ला जिल्लालाई साक्षर घोषणा गरेका हुन् ।
सामाजिक विकास कार्यालय,पेश नेपाल,किर्डाक नेपाल,क्याड नेपाल,सेभ द चिल्ड्रेनको सहयोग र जिल्ला समन्वय समितिको आयोजनामा साक्षर जिल्ला घोषणा गरिएको छ ।
राष्ट्रिय साक्षरता मापदण्ड अनुसार १५ देखि ६० वर्ष उमेर समूहको जनसङ्ख्या मध्ये ९५ प्रतिशत भन्दा माथी साक्षरता पुगेमा साक्षर जिल्ला घोषणा गर्न सकिने प्रावधान रहेको छ । सोही आधारमा जुम्लाको १५ देखि ६० वर्ष उमेर समूहका ७२ हजार ३१९ जनसङ्ख्या मध्ये ९६.०७ प्रतिशत अर्थात् ६९ हजार ४७७ जना भन्दा बढी नागरिक साक्षर रहेको सुनिश्चित भएपछि साक्षर अभियान,जिल्ला समन्वय समिति, जुम्लाको मिति गत मङ्सिर ९ गतेको निर्णयअनुसार साक्षर जिल्ला घोषणा गरिएको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले बताउनुभयो ।
साक्षर घोषणाको मापदण्डअनुसार १५ वर्षमाथि र ६० वर्षमुनिका नागरिकले आफ्नो नाम लेख्न सक्ने,१ देखि १० सम्म गन्न सक्ने,मोबाइल चलाउन सक्ने,फोन गर्न सक्ने,ट्राफिक नियम पालना गर्न सक्ने लगायतका १२ वटा सूचकको ५० प्रतिशत पुरा गरेमा साक्षर पालिकादेखि जिल्ला घोषणा गर्न मिल्ने प्रावधान छन् ।
जिल्ला समन्वय समितिका प्रमुख आर्चायले जुम्लामा १५ देखि ६० वर्षमुनिका नागरिक ७३ हजार ३१९ रहेकामा उक्त जनसख्ंयाको ९५.७ प्रतिशत नागरिक साक्षर रहेको सुनिश्चित भएपछि जुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको उल्लेख गर्नुभयो ।
यसअघि विभिन्न मितिमा जुम्लाका आठै पालिका साक्षर घोषणा भइसकेका छन् । जसमा कनकासुन्दरी गाउँपालिकाका ९७ प्रतिशत,हिमा गाउँपालिका ९६ प्रतिशत,सिंजा गाउँपालिका ९६.५ प्रतिशत नागरिक साक्षर भएका छन् ।
त्यस्तै,चन्दननाथ नगरपालिकाका ९८.९१ प्रतिशत,पातारासी गाउँपालिकाका ९५.२५ प्रतिशत,तातोपानी गाउँपालिकाका ९५.७७ प्रतिशत,गुठिचौर गाउँपालिकाका ९५.७३ प्रतिशत र तिला गाउँपालिकाका ९५.४ प्रतिशत नागरिक साक्षर भएको सरकारी तथ्याङ्क छ ।
कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सांसद देवेन्द्र बहादुर शाहीले सुगमका भन्दा अगाडी दुर्गमका जिल्ला साक्षर हुनु सुखद पक्ष भएको बताउनुभयो । घोषणा गर्नुमात्र ठुलो कुरा नभई घोषणाको प्रभावकारी कार्यान्वयनमा सबै निकाय गम्भीर हुनुपर्ने उल्लेख गर्नुभयो ।
केही महिनाको कसरतमै जुम्ला साक्षर जिल्ला बन्न सफल भएको छ । तथ्याङ्कले जिल्लाका आठै पालिका र समग्र जिल्लाको साक्षरता दर उच्च देखाएपनि वास्तविकता के छ भन्ने विषयमा बुझ्न भने बाँकी छ ।
प्रतिक्रिया राख्नुहोस्