किसानहरूलाई सधैँ पिरलो…
कञ्चनपुर । कञ्चनपुरका विभिन्न क्षेत्रमा धान बाली भित्र्याउने समयमा पनि रोग किराको सङ्क्रमण देखिएको छ ।
ढिलो गरी रोपेको धान काट्नका लागि तयार भएको समयमा कालोपोके रोग र चुसाहा किरा पतेरो (गान्धिवग) ले धान बाली नष्ट भएपछि यहाँ धान उत्पादक कृषकहरू निराश हुनुहुन्छ । धान बालीमा खाद्य तत्त्वको कमी, रोग र किराकै कारण यस वर्ष धानको उब्जनीमा पनि कमी आउने भन्दै किसानहरू चिन्तित हुनुहुन्छ ।
यस वर्ष मनसुन भित्रिन ढिलाइ हुँदा किसानहरूले केही ढिलो गरी धान रोपाइ गर्नुभएको थियो । तर धान रोपेको केही दिनमै भारी वर्षाका कारण केही क्षेत्रको धान त पुरै सखाप नै भयो । बाढी र डुबानको सामना गरेर पनि हुर्किएको धान र पछि रोपिएको धान बालीमा भने रोपेको एक महिना नपुग्दै खैरा रोगसँगै गभारो र पात बेरुवा किराको सङ्क्रमण देखिएको थियो ।
समय समयमा माटो परीक्षण, प्रतिरोधी जातका धानको खेती, खेतबारीको सरसफाइ, सन्तुलित मल र प्रभावकारी कीटनाशकहरूको प्रयोगबाट रोग किरा नियन्त्रण गर्न सकिन्छ । यसका साथै मित्र जीव कीराहरूलाई बचाउने, खेतको वरिपरि झार र अन्य खतरनाक वनस्पतिहरू हटाउने, उचित समयमै धानको रोपाइ गरेर पनि रोग कीरा लाग्ने जोखिम कम गर्न सकिने कृषि विज्ञहरूको भनाइ छ ।
४८ हजार हेक्टर जमिनमा धान खेती हुने कञ्चनपुर जिल्लालाई धान खेतीका लागि उर्वर भूमि मानिन्छ । तर वर्षेनी प्राकृतिक विपद्सँगै विभिन्न रोग किराको प्रभावले यहाँका कृषकहरू अपेक्षाकृत उत्पादन भित्र्याउन सकिरहनुभएको छैन ।
प्रतिक्रिया राख्नुहोस्