तपाईँ सुन्दै हुनुहुन्छः

रवि लामिछानेविरुद्धको सङ्गठित अपराध मुद्दा पर्सामा पनि फिर्ता

वीरगंज । जिल्ला अदालत पर्साले आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध दर्ता भएको सङ्गठित अपराध सम्बन्धी मुद्दा फिर्ता लिने आदेश दिएको छ ।

जिल्ला अदालत पर्साका न्यायाधीश मोहन सुवेदीको इजलासले आज लामिछानेको माग बमोजिम उक्त कसुर फिर्ता लिने निर्णय सुनाएको हो । यस निर्णयसँगै लामिछानेमाथि लागेका विभिन्न आपराधिक अभियोगमध्ये अब केवल ‘सानो पाइला सहकारी’ ठगीसम्बन्धी मुद्दा मात्र बाँकी रहेको छ । 

यसअघि कास्की जिल्ला अदालतले पनि उनी विरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने आदेश दिइसकेको छ ।

अदालतको आदेशमा उल्लेख भएअनुसार, जाहेरवालाको मुख्य ध्येय आफ्नो रकम फिर्ता पाउनु रहेको र सहकारी ठगीको दाबी यथावत् नै रहेकाले सङ्गठित अपराधको कसुर फिर्ता लिँदा न्याय निरूपणमा कुनै असर नपर्ने देखिएको छ ।

सङ्गठित अपराधको अभियोग हटेपछि जाहेरवाला र प्रतिवादीबीच मिलापत्रको वातावरण बन्ने तथा बचतकर्ताहरूको रकम फिर्ता गर्ने प्रक्रिया थप सहज हुने अदालतको ठहर छ । 

२०८२ माघ ६ गते अदालतमा उपस्थित भई एक करोड रुपैयाँ धरौटी बुझाएर रिहा हुनुभएका लामिछानेसहितका प्रतिवादीहरूका हकमा यो आदेशले ठूलो राहत दिएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले अध्यक्ष रवि लामिछाने लगायत सहकारी प्रकरणका अन्य प्रतिवादीहरू विरुद्धका सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने नीतिगत निर्णय गरेसँगै विभिन्न जिल्लाका सरकारी वकिल कार्यालयहरूले अभियोग पत्र संशोधनका लागि निवेदन दिएका थिए । सोही प्रक्रिया स्वरूप अहिले विभिन्न जिल्ला अदालतहरूबाट धमाधम मुद्दा फिर्ता भइरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button