रास्वपाको मधेश प्रदेश अधिवेशन स्थगित

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेश प्रदेश अधिवेशन स्थगित गरेको छ । २८ जेठका लागि तय भएको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको केन्द्रीय अनुशासन आयोगले जनाएको हो ।
२३ र २४ जेठका लागि तोकिएको जिल्ला अधिवेशन समयमा हुन नसकेपछि प्रदेश अधिवेशन रोकिएको हो । मधेशका आठ जिल्लामध्ये हालसम्म पर्साको मात्रै अधिवेशन भएको छ ।
अन्य जिल्लामा प्रक्रिया सुरु भएपनि नेतृत्व चयनको प्रक्रियामा पुगेपछि विवाद भएर नयाँ समिति गठन हुन सकेको छैन । यता धनुषा जिल्ला अधिवेशनका लागि जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक भवनमा आजका लागि बोलाइएको जिल्ला अधिवेशन पनि स्थगित भएको छ । जिल्ला अधिवेशनका लागि आएका कार्यकर्ताहरू अनुशासन आयोगका परिपत्रपछि आ–आफ्नो घर फर्केका छन् ।
अनुशासन आयोग केन्द्रीय प्रमुख भुवन केसीले आज सूचना प्रकाशित गरेर मधेश अधिवेशन रोकिएको जानकारी दिनु भएको हो । स्थगनको निर्णय मधेस प्रदेश अधिवेशनसँग सम्बन्धित प्रतिनिधि छनोट, निर्वाचन कार्यक्रम, उम्मेदवारी प्रक्रिया, प्रचारप्रसार, बैठक, भेला तथा अधिवेशन आयोजनासँग सम्बन्धित सम्पूर्ण गतिविधिहरूमा लागु हुने अनुशासन आयोगका प्रमुख केसीले प्रकाशित गर्नु भएको प्रेस विज्ञप्तिमा उल्लेख रहेको छ ।
रास्वपाको प्रदेश अधिवेशन आजबाट सुरु भएको छ । प्रदेशतर्फ पहिलो अधिवेशन बागमतीबाट सुरु गरिएको छ । कोशीको जेठ २७, गण्डकीको २९, लुम्बिनीको ३०, कर्णालीको ३१ जेठ र सुदूरपश्चिम प्रदेशको अधिवेशन असार १ गतेका लागि तोकिएको छ ।







प्रतिक्रिया राख्नुहोस्