तपाईँ सुन्दै हुनुहुन्छः

ट्याक्टरले खेत जोत्ने क्रममा रोटाभेटरमा बेरिएर ५ बर्षीय बालकको मृत्यु 

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर–३० प्रसोतिपुरमा ट्याक्टरले खेत जोत्ने क्रममा रोटाभेटरमा बेरिएर ५ बर्षीय एक बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मधेश प्रदेश ०३–००१ त ८१७६ नम्बरको ट्र्याक्टरले खेत जोतिरहेको अवस्थामा हिजो साँझ स्थानीय नुरैन मियाँका ५ वर्षीय छोरा सोनु अन्सारी रोटाभेटरमा अचानक बेरिएका थिए ।

घटनामा गम्भीर घाइते भएका अन्सारीलाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याइएको थियो । उपचारको क्रममा बालकको गएराती मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बालक आफ्नै खेतमा ट्र्याक्टरले जोत्ने काम भइरहेका बेला दुर्घटनामा परेका हुन् । घटनापछि प्रसोतिपुर गाउँमा शोक छाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button