तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा जेठ ३० देखि खेल सप्ताह हुने, राष्ट्रियदेखि ग्रासरुट तहसम्मका प्रतियोगिता हुने

पोखरा । पोखरामा यही जेठ ३० गतेदेखि ‘खेल सप्ताह’ हुने भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा खेलकुद गतिविधिलाई थप व्यवस्थित, समावेशी र प्रतिभामुखी बनाउने उद्देश्यसहित आउँदो असार ५ गतेसम्म ‘खेल सप्ताह’ हुने भएको पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले बताउनु भयो । 

खेल सप्ताहमा कुल सात वटा खेल समावेश गरिएका छन् । तीमध्ये दुई वटा राष्ट्रियस्तरका र पाँच वटा ग्रासरुट तहका प्रतियोगिता हुने भएको उहाँले जनाउनु भयो । राष्ट्रिय स्तरमा मुवाथाई र साइक्लिङ प्रतियोगिता आयोजना गरिनेछ भने जुडो, हक्की, फुल कन्ट्याक्ट कराँते, टेबलटेनिस लगायतका खेल ग्रासरुट तहमा सञ्चालन हुने तयारी गरिएको अध्यक्ष गोदारले बताउनु भयो ।

अध्यक्ष गोदारले ग्रासरुट तहका खेल प्रतियोगितामार्फत नयाँ खेलाडीको प्रतिभा पहिचान तथा विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । स्थानीय स्तरमै रहेका सम्भावनायुक्त खेलाडीलाई अवसर प्रदान गर्दै भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताहरू आयोजना गर्न लागिएको उहाँको दाबी छ । 

खेल सप्ताहको अवसरमा मार्सल आर्ट फेस्टिभलसहित अन्य खेलसम्बन्धी कार्यक्रमहरू आयोजना गरिने भएको समितिका सदस्य सचिव सुरज अधिकारीले बताउनु भयो । तयारीका क्रममा मङ्गलवार बसेको बैठकले विभिन्न समिति तथा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरेको समितिले जनाएको छ । 

सदस्य सचिव अधिकारीका अनुसार चालु वर्षमा राष्ट्रपति रनिङ शिल्डसहित महानगरपालिकाको आयोजना तथा सहजीकरणमा विभिन्न खेलकुद गतिविधि सम्पन्न भए पनि ती कार्यक्रममार्फत समेटिन नसकेका केही खेललाई खेल सप्ताहमा समावेश गरिएको हो । यसले विविध खेल विधालाई प्रवद्र्धन गर्नुका साथै खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

खेल सप्ताहले पोखरामा खेल संस्कृतिको विकास, नयाँ प्रतिभाको खोजी तथा विभिन्न खेल संघ–संस्थाबीच समन्वय अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास समितिले लिएको छ । यसका अलावा राष्ट्रिय स्तरका प्रतियोगिताले पोखरालाई खेल पर्यटनको गन्तव्यका रूपमा थप स्थापित गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button