मन्त्रिपरिषद् बैठक: निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८३ स्वीकृत
'चार जलविद्युत आयोजनालाई वन क्षेत्र प्रयोगको स्वीकृति'
काठमाडौँ । सरकारले निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली २०८३ स्वीकृत गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकको निर्णयहरू सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले निजामती सेवा सोह्रौँ संशोधन नियमावली स्वीकृत गरेको जानकारी दिनुभयो ।
मन्त्रिपरिषद बैठकले पूर्व गृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ ।
सरकारले तल्लो अरुण जलविद्युत आयोजना, लोवर न्यादी खोला जलविद्युत आयोजना, घुन्सा खोला जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गरेको मन्त्री पोखरेलले जानकारी दिनभयो ।
बैठकमा विशाल कुमार भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय भएको मन्त्री पोखरेलले बताउनुभयो ।
मन्त्रिपरिषद बैठकको निर्णयहरू सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरूको एक जिज्ञासामा मन्त्री पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह आवश्यक परेको खण्डमा प्रश्नहरूको जवाफ दिन सदनमा उपस्थित हुनुहुने बताउनुभयो ।
यस्तै मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयमा बजेट अभाव नहुने गरी आवश्यक बजेट विनियोजन गरिएको र शिक्षा क्षेत्रमा पर्याप्त बजेट छुट्टाइएको जानकारी दिनुभयो ।
मन्त्री पोखरेलले हाल परीक्षाको नाममा विद्यार्थीहरूको मोबाइल फोन नष्ट गरिएको कार्य गैरकानुनी भएको स्पष्ट पार्नुहुँदै सङ्घीय सरकार अन्तर्गतको शिक्षा तथा खेलकुद मन्त्रालयबाट यस्तो निर्देशन जारी नभएको जानकारी समेत दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्