अत्याधिक गर्मीले बाँके उकुसमुकुस र आक्रान्त, तापक्रम ४० डिग्री आसपास

नेपालगञ्ज । बढ्दो गर्मी र तातो हावाका कारण बाँके लगायत पश्चिम तराईका जिल्लाहरूमा जनजीवन प्रभावित बनेको छ । यहाँको जनजीवन उकुसमुकुस र आक्रान्त छ ।
पछिल्लो दुई सातादेखि नेपालगञ्ज र आसपासका क्षेत्रमा तापक्रम निरन्तर उकालो लाग्दै गएपछि दैनिक गतिविधि प्रभावित भएका हुन् । केही दिन यता नेपालगञ्जको तापक्रम ४० डिग्री आसपास पुगेको छ । त्यसमा पनि अनियमित विद्युत् र लो–भोल्टेजले दैनिकी अझ कष्टकर बनाइदिएको छ । जेठ लागेसँगै बढेको गर्मीका कारण बाँकेसहित पश्चिम नेपालको तराई क्षेत्रको जनजीवन प्रभावित भएको हो ।
बिहान ९ बजेपछि नै घाम अत्यधिक चर्किने भएकाले बजार तथा ग्रामीण क्षेत्रहरू सुनसान जस्तै बन्न थालेका छन् भने सर्वसाधारणको हिँडडुल समेत घटेको छ । मानिसहरूलाई अहिले अत्यधिक गर्मीका कारण बिहान र साँझ बाहेक बाहिर निस्कनै कठिन भएको छ । गर्मीका कारण दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने विपन्न वर्ग, विद्यार्थीहरू सबैभन्दा बढी प्रभावित बनेका छन् । अटो–रिक्सा चालकहरू समेत गर्मीका कारण काम गर्न असहज भएको बताउँछन् । अन्य समयमा व्यस्त रहने बजारका चोकहरूमा अटो रिक्साको उपस्थिति समेत पातलो देखिएको छ ।
चिकित्सकहरूले अत्यधिक गर्मीबाट बच्न दिउँसोको समयमा बाहिर ननिस्कन, चिसो स्थानमा बस्न र अत्यावश्यक अवस्थामा मात्र बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने तथा हल्का सुतीका कपडा प्रयोग गर्न सुझाव दिएका छन् । भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा। उमेश ढुङ्गानाले शरीरमा पानीको कमी हुन नदिन पटक–पटक पानी, जुस वा अन्य झोल पदार्थ सेवन गर्नु आवश्यक हुने बताउँदै असामान्य स्वास्थ्य समस्या देखिएमा तुरुन्त स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्ने बताउनुभयो । अस्पतालहरूमा गर्मीजन्य रोगका बिरामीहरू बढेका छन् ।








प्रतिक्रिया राख्नुहोस्