तपाईँ सुन्दै हुनुहुन्छः

बागमती नदीमा नुहाउन गएका दुई युवक डुबेर बेपत्ता 

रौतहट । बागमती नदीमा शनिबार नुहाउने क्रममा दुई युवक डुबेर बेपत्ता भएका छन् । 

पाँच जनाको समूहमा नदीमा नुहाउन गएका दुवै जना नदीको गहिरो भागमा पुगेपछि बेपत्ता भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार बेपत्ता हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–५ निवासी गणेश महतो र सोही स्थानका रोहित महतो रहेका छन् । दुवै युवकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ती युवकहरू महेन्द्र राजमार्गभन्दा करिब तीन किलोमिटर उत्तरतर्फ पर्ने मकवानपुर र सिन्धुली जिल्लाको सीमाक्षेत्र हुँदै बग्ने बागमती नदीमा नुहाउन गएका थिए । सोही क्रममा उनीहरू नदीमा डुबेका हुन् ।

घटनालगत्तै स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा खोजी कार्य सुरु गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायब उपरीक्षक रूपा लावुङका अनुसार रौतहट र सर्लाहीका प्रहरी टोली संयुक्त रूपमा बेपत्ता युवकहरूको खोजीमा जुटेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button