तपाईँ सुन्दै हुनुहुन्छः

सहिदको छोरी आकृतिको सपना देशको सेवा गर्ने

चितवन । भरतपुर महानगरपालिका–११ बसेनीस्थित जेनजी आन्दोलनका सहिद सारकुमार राईको घर (डेरा) मा आज केही समयका लागि पीडा भुलाउने वातावरण बन्यो । लामो समयदेखि शोक र पीडामा रहेको परिवारमा सहिद राईकी छोरी आकृति राईले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा राम्रो अङ्कसहित उत्तीर्ण भएपछि खुसी छाएको हो ।

आकृतिको पढाइको जिम्मेवारी लिएका गोल्याण ग्रुपका अध्यक्ष तथा पदाधिकारीको टोली उहाँलाई बधाई दिन घरमै पुगेको थियो । आकृतिकी आमा सुनिता राईले छोरीको सफलताले परिवारमा आशा र आत्मविश्वास बढाएको बताउनुभयो । उहाँले भन्नुभयो, “अब आँट आउन थालेको छ । मेरो नानीले केही गर्छे जस्तो लागेको छ ।” उहाँले छोरीको शिक्षामा सहयोग गर्ने गोल्याण ग्रुपप्रति आभार व्यक्त गर्दै दुःख र अन्योलबिच आएको सहयोग परिवारका लागि मलमसरह बनेको बताउनुभयो । परिवारमा परेको पीडाले छोरी पहिलेभन्दा अझ आत्मविश्वासी र समाजमा केही गर्न सक्ने खालकी बनेको उहाँको भनाइ थियो । 

उदयपुरको चौदण्डीगढी नगरपालिका स्थायी घर भएकी आकृतिले कक्षा ८ देखि भरतपुरस्थित मन शिक्षा मन्दिर माध्यमिक विद्यालयमा अध्ययन गर्दै आउनुभएको हो । उहाँले विद्यालय परिवार र सहयोगी संस्थाको साथले पढाइ सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो, “गोल्याण के हो भन्ने पहिले थाहा थिएन । भेट भएपछि आफ्नै परिवार जस्तो लागेको छ ।” आकृतिले अब भरतपुरस्थित आरोमा कलेजमा प्लस टु अध्ययन गर्ने बताउँदै भविष्यप्रति आशावादी रहेको धारणा राख्नुभयो । प्लस टु अध्ययनपछि बिएससी नर्सिङ अध्ययन गरी देशमै सेवा गर्ने इच्छा रहेको उहाँले बताउनुभयो ।

मन शिक्षा मन्दिर माध्यमिक विद्यालय का प्रधानाध्यापक इन्द्रेश शाहले आकृति मेहनती र जिम्मेवार विद्यार्थी रहेको बताउनुभयो । उहाँले पारिवारिक पीडाका बाबजुद विद्यालय र पछि गोल्याण ग्रुपबाट प्राप्त सहयोगले आकृतिमा थप उत्साह आएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “परिवारमा पीडा नभई अनुकूल वातावरण भएको भए आकृतिको बढी अङ्क ल्याउने सम्भावना थियो ।”

अब आकृतिले अध्ययन गर्ने कलेज आरोमा कलेज भरतपुरका प्रिन्सिपल शेरबहादुर क्षेत्रीले आकृतिको अध्ययनका लागि कलेज पूर्णरूपमा सहयोग गर्न तयार रहेको बताउनुभयो । गोल्याण ग्रुपसँग समन्वय गरेर आवश्यक जिम्मेवारी लिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

गोल्याण ग्रुपका कर्पोरेट अफेयर्स, कम्युनिकेसन एण्ड पिआर प्रमुख ज्योति गैरेले आकृतिको सफलताको सम्मान स्वरूप घरमा नै आएर भेटेर बधाई कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार आकृति जेनजी आन्दोलनका सहिद परिवारबाट एसइई उत्तीर्ण गर्ने पहिलो सन्तान हुन् । जेनजी आन्दोलनका सहिदका ३२ जना बालबालिकालाई गोल्याण ग्रुपले कक्षा १२ सम्म शैक्षिक वृत्ति प्रदान गरिरहेको छ । प्रत्येक विद्यार्थीलाई मासिक रु ४० हजारका दरले वार्षिक रु चार लाख ८० हजार उपलब्ध गराइँदै आएको छ ।

उहाँले चितवनमा आकृतिसहित कक्षा ४ मा अध्ययनरत अर्का एक सहिद परिवारका बालबालिकालाई सहयोग गरिरहेको बताउनुभयो । देशभरका विद्यालय जाने तयारीमा रहेका तथा विभिन्न कक्षामा अध्ययनरत सहिद परिवारका बालबालिकालाई गोल्याण ग्रुपले सहयोग गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

आकृति राई ३.४० जिपिएसहित एसइई उत्तीर्ण भएकी हुनुभएको हो । उहाँ पहिलो एसइई उत्तीर्ण हुने जेनजी आन्दोलनका सहिद परिवारको सन्तान हुनुहुन्छ । 

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button