तपाईँ सुन्दै हुनुहुन्छः

‘कान्स फिल्म फेस्टिभल’ मा नेपालको उपस्थिति गौरवपूर्ण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले यस वर्ष ‘कान्स फिल्म फेस्टिभल’मा नेपालको उपस्थिति नेपालीले गौरव गर्ने स्तरमा पुगेको बताउनुभएको छ । 

फेस्टिभलमा भाग लिएर स्वदेश फर्किएपछि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले, फेस्टिभलमा अविनाशविक्रम शाहले निर्देशन गर्नुभएको नेपाली चलचित्र ‘इलिफेन्ट इन द फग (तिनीहरू)’ले अनसर्टेन रिगार्ड विधामा ‘जुरी प्राइज’ प्राप्त गर्नुले नेपाली चलचित्र तथा रचनात्मक उद्योग र कला क्षेत्रको उचाइ अझ अग्लिएको उहाँले भन्नुभयो ।

महोत्सवमा सम्बन्धका विषयमा उहाँले भन्नुभयो, “कामपाले आयोजना गर्ने फिल्म फेस्टिभलको विषय कान्स महोत्सवमार्फत अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउनु, चलचित्र विधाका नगरहरूका बीचमा आपसी सम्बन्ध, सिकाइ तथा प्राविधिक क्षमता आदानप्रदानको विषय प्रवेश हुनु हामी सबैका लागि सुखद कुरा हो । अन्तर्राष्ट्रिय स्तरको ज्ञान, सीप र अनुभवको उपयोग तथा फिल्म महोत्सवमार्फत हामी रचनात्मक उद्योगसँग सम्बन्धित क्षेत्रको सन्तुलित विकास गराउन चाहन्छौँ ।” 

फ्रान्सको कान्स नगरका प्रमुख डेभिड लिसनार्डको निमन्त्रणा गएको आइतबार फ्रान्स प्रस्थान गर्नुभएकी डङ्गोलले लिसनार्डलाई काठमाडौँ चलचित्र महोत्सवमा सहभागी हुन निमन्त्रणा दिनुभएको छ । 

फेस्टिभलमा चलचित्र उत्पादनसँग सम्बन्धित प्रविधि र प्राविधिक स्थलको अवलोकन, यी विषयमा नगरका प्रमुखहरू तथा रचनात्मक उद्योग क्षेत्रका अधिकारीहरूसँग आपसी सिकाइ, भोगाइ तथा अनुभव आदानप्रदान भएको थियो । चलचित्रबाट गीत, सङ्गीत, साहित्य, फेसन, खाना  कला, शैली र शिल्पलाई रचनात्मक उद्योगमा विकसित गर्ने सम्भावनाका विषयमा कुराकानी भएको थियो । स्थानीय समुदायदेखि अन्तर्राष्ट्रिय चलचित्रलाई सिर्जनात्मक उद्योगमा जोड्ने, शिक्षा तथा प्राज्ञिक क्षेत्र, पेसाकर्मीको सहभागिता, आपसी सीप हितका विषय भेट र छलफलमा समेटिएका थिए । 

कान्स र काठमाडौँ दुवै संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को ‘क्रिएटिभ सिटी’को चलचित्र विधाका सदस्य नगर हुन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button