सञ्चार क्षेत्रलाई पारदर्शी बनाउन प्याकेज ल्याउने तयारीमा सरकार
काठमाडौँ । सञ्चार माध्यमलाई पारदर्शी बनाउन सरकारले केही महत्त्वपूर्ण प्याकेज ल्याउने तयारी गरेको जनाएको छ ।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य, तथा सूचना प्रविधि समितिको आज सिंहदरबारमा बसेको बैठकमा सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमल्सिनाले सरकारलाई समेत जबाफदेही बनाउने सञ्चार माध्यम आफै पनि जबाफदेही हुनुपर्ने बताउनुभयो ।

डिजिटल नेपालको अभियानलाई निरन्तरता दिन सरकार प्रतिबद्ध रहेको बताउनुहुँदै मन्त्री तिमल्सिनाले मन्त्रालय अन्तरगतका विभिन्न निकायहरूको पुनर्संरचनाका लागि विस्तृत अध्ययन भइरहेको बैठकलाई जानकारी गराउनुभयो ।
बैठकमा मन्त्री तिमल्सिनाले सरकारले नेपालको आफ्नै स्याटलाइटका लागि पनि प्रयास गरिरहेको बताउनुभयो ।
बैठकमा सांसदहरुले सरकारले कागजी प्रक्रियालाई विस्थापित हुने गरी काम गर्नुपर्ने, डिजिटल कक्षाकोठाहरूको अवधारणा अघि बढाउनुपर्ने, विश्वविद्यालयबाट डिजिटल प्रमाणपत्रहरू दिन सक्ने गरी कार्य आरम्भ गर्नुपर्नेमा जोड दिनुभयो ।
भ्रष्टाचार अन्त्यका लागि सूचना प्रविधि महत्वपूर्ण हुने भन्दै सांसदहरुले सार्वजनिक सेवा प्रवाह गर्ने संस्थाहरूमा पूर्ण रुपमा प्रविधिमैत्री कार्य वातावरण बनाइनुपर्ने र सरकारी डाटाहरूको सुरक्षामा सरकारले विशेष जोड दिनुपर्ने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्