ऊर्जामा लगानी, आयात प्रतिस्थापन र राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न सांसदहरूको जोड
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले सरकारले ऊर्जा क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने, व्यापार घाटाले थिचेको अर्थतन्त्रलाई उठाउन आयात प्रतिस्थापन गर्नुपर्ने र ठूला र राष्ट्रिय गौरवका आयोजनाहरू तोकिएको समयमा सम्पन्न गर्न विशेष सहजीकरण सहित एक दशकका लागि संचित ऐन आवश्यक भएको बताउनुभएको छ ।

बैठकमा सांसद श्रीराम न्यौपानेले लाखौँ युवालाई विदेश जानबाट रोक्न र उद्यमशीलतामा जोड्न प्रत्येक नागरिकको घर, व्यवसाय र खेतबारीसम्म २४ सै घण्टा गुणस्तरीय बिजुली र नेटवर्क नभइ नहुने विचार व्यक्त गर्नुभयो ।

त्यसैगरी सांसद विष्णुबहादुर खड्काले कर्णालीवासीका समृद्धिका मागहरू सरकारको नीति तथा कार्यक्रमले समेट्न नसकेको भन्दै आगामी बजेटमा सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा प्रतिनिधिसभा सदस्य भूमिका सुव्वाले राष्ट्रपति महिला उत्थान कार्यक्रमले विगतमा मातृ तथा शिशु मृत्युदर घटाएको सरकारी तथ्याङ्कले नै देखाउँदा पनि सरकारले त्यो कार्यक्रमलाई बेवास्ता गरेको आरोप लगाउनुभयो ।

बैठकमा सांसदहरु धनबहादुर बुढा र अम्मिकादेवी सङ्ग्रौला, आनन्द चन्द, सरस्वती लामालगायतले डोल्पामा राष्ट्रिय विद्युत प्रसारण लाइन जोड्ने कार्य अघि बढाउन माग गर्दै झोलामा ठेक्का हालेर ढिलासुस्ती गर्ने ठेकेदारलाई तत्काल कारबाही गर्न सरकारलाई आग्रह गर्नुभयो ।
बैठकको विशेष समयमा सांसदहरुले बोल्ने क्रम सकिएपछि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने र छलफलपछि आजै अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले उठेका प्रश्नका जवाफ दिने कार्यसूची रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्