तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा भिरबाट खसेको ढुङ्गा लागेर महिला वडा सदस्यको मृत्यु

बाजुरा। बाजुराको बुढीगंगा नगरपालिका–३ की महिला वडा सदस्य कल्पना देवी थापाको भिरबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको छ।

मङ्गलवार साँझ करिब ६ बजेतिर बुढीगंगा–६ फालासैन बजारबाट घर फर्किँदै गर्दा माथिबाट अचानक खसेको ढुङ्गा लाग्दा ३७ वर्षीय थापाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार ढुङ्गा लागेपछि वडा सदस्य थापा पैदल बाटोबाट करिब ५० मिटर तल खस्नुभएको थियो। घटनालगत्तै स्थानीयले टेलिफोनमार्फत प्रहरीलाई खबर गरेपछि प्रहरी चौकी बार्जुगाडबाट प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय बाजुराबाट पनि प्रहरी निरीक्षकको नेतृत्वमा थप टोली घटना स्थल पुगेको थियो।

स्थानीय तहको जनप्रतिनिधि समेत रहेकी थापाको अकाल मृत्युले बुढीगंगा क्षेत्रमा शोक छाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। उहाँ २०७९को स्थानीय निर्वाचनमा नेकपा एमाले बाट बुढिगंगा नगरपालिका ३को वडा महिला सदस्यमा निर्वाचित हुनुभएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button