संसद्मा विपक्षी दलहरूको निरन्तर अवरोध: प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित
काठमाडौँ। प्रतिपक्ष सांसदहरूका निरन्तर अवरोधका कारण आज पनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुन सकेन ।
प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथै प्रतिपक्ष दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले सत्ता पक्ष र विपक्षी दलहरूसँग संवाद सुरु भइसकेकाले सदनको काम कारबाही अघि बढाउन सांसदहरूलाई आग्रह गर्नुभएको थियो ।
बैठकको सुरुवातमा नेकपा एमालेका सांसद क्षितिज थेवेले राष्ट्रियताका सवालमा सिङ्गो प्रतिनिधिसभा एक ठाउँमा हुनुपर्ने भन्दै प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति नसच्याएसम्म सदन चल्न नदिने बताउनुभयो ।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले संसदमा प्रस्तुत भएको बजेटमा भन्सार दरका विषयमा उठेका प्रश्नको पनि सरकारले जवाफ दिनुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेसका सांसद निश्कल राईले प्रतिपक्ष दलले विरोधका लागि मात्रै विरोध गरेको नभइ राष्ट्रिय हितका पक्षमा आफूहरू सधैँ उभिइरहने बताउनुभयो ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले लामो समयदेखिको सदनमा अवरोध तत्काल हटाउन नेपालले पनि भारतको सीमा मिचेको छ भनेर हस्ताक्षर सहित सरकारले पुष्टि गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
बैठकमा श्रम संस्कृति पाटीका अध्यक्ष एवम् सांसद हर्कराज राईले राष्ट्रहित विपरीत संसदमा प्रधानमन्त्रीले बोल्नुभएको कुरा रेकर्डबाट हटाउँदै आइन्दा यस्ता अभिव्यक्ति कसैले पनि व्यक्त गर्न नमिल्ने गरी प्रतिबद्धता पत्र प्रस्तावका रुपमा सदनबाट पास गर्न प्रस्ताव गर्नुभयो ।
प्रतिनिधिसभाको अर्को बैठक भोली जेठ २७ गते बुधबार दिनको ११ बजे बस्नेछ ।








प्रतिक्रिया राख्नुहोस्